09/05/2026, 12:49:18
शनिबार, भदौ २०, २०८३

पृथ्वी राजमार्गको कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटान सुरु (दीर्घकालीन विकल्प टनेल)


मुग्लिङ, भदौ २० गते । गत सोमबार भासिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सडक तत्काल सञ्चालनमा ल्याउन शुक्रबार बिहानदेखि डाइभर्सन निर्माणका लागि भिर कटान सुरु गरिएको छ।

प्राविधिक तथा विज्ञहरूको सुझाव र जियोटेक्निकल सोसाइटीले तयार पारेको डिजाइनका आधारमा भिरमा ८ मिटर चौडाइ र करिब २७० मिटर लम्बाइको डाइभर्सन निर्माण भइरहेको हो। चार वटा एक्साभेटर परिचालन गरी सुरु गरिएको यो काम यही गतिमा अघि बढे कम्तीमा १५ दिनभित्र डाइभर्सन खोलिने आयोजनाका इन्जिनियर धीरन ढकालले जानकारी दिनुभयो।

जोखिम मोलेर भए पनि काठमाडौँ–चितवन जोड्ने मुख्य राजमार्ग सञ्चालनमा ल्याउनु तत्कालको बाध्यात्मक प्राथमिकता भए पनि विज्ञहरूले दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन्।

टनेलविज्ञ सुभाषचन्द्र बराल तथा सडक विभागकी सिनियर डिभिजन इन्जिनियर कल्पना अधिकारीका अनुसार यस्ता जोखिमयुक्त स्थानमा छोटा टनेल निर्माण गर्नु नै उत्तम र भरपर्दो विकल्प हो, यद्यपि यो केही खर्चिलो हुनेछ। कमजोर भूधरातलका कारण भिर कटानले थप जोखिम ल्याउन सक्ने भएकाले थप भूप्राविधिक अध्ययन आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

पूर्वाधार विकास मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरू तथा विज्ञहरूको बैठकले अल्पकालीन रूपमा भिर कटान गरी राजमार्ग सञ्चालन गर्ने निर्णय गरेको थियो। सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गमा सवारी चाप बढेको छ।

यसैबिच, पृथ्वी राजमार्गकै परेवाभिरमा डाइभर्सन निर्माण गरी यातायात सुचारु भइसकेको छ भने शीतलबजार र नारायणगढ–मुग्लिङ खण्डको ३१ किलोमा एकतर्फी सवारी साधन सञ्चालन भइरहेका छन्।