09/03/2026, 21:22:54
बिहिबार, भदौ १८, २०८३

राजमार्ग अवरुद्ध भएपछि हेटौँडामा यात्रु र चालकका लागि निःशुल्क खानाको व्यवस्था


हेटौँडा, भदौ १८ गते । पृथ्वी राजमार्ग अवरुद्ध भई त्रिभुवन राजपथ र कान्ति लोकपथमार्फत काठमाडौँ जाने सवारीसाधनको चाप बढेपछि हेटौँडामा यात्रु तथा चालकलाई लक्षित गरी निःशुल्क खानाको व्यवस्था मिलाइएको छ।

नागरिक समाज मकवानपुरको पहलमा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिहीबारदेखि हेटौँडा–१ स्थित भाटभटेनी अगाडि खाना वितरण सुरु गरिएको हो।

सडकको खराब अवस्था, एकतर्फी यातायात र घण्टौँसम्म लाग्ने ट्राफिक जामका कारण यात्रु तथा चालकहरूले खानाको समस्या भोग्नुपरेपछि यो अभियान थालिएको हो। जिल्ला प्रमुख वसन्त अधिकारीका अनुसार सडक सामान्य नभएसम्म बिहान ११ देखि दिउँसो २ बजेसम्म र अपराह्न ४ देखि साँझ ७ बजेसम्म खाना वितरण निरन्तर जारी रहनेछ। अभियानमा लामो दूरीका बसका यात्रु, एम्बुलेन्स तथा ढुवानीका चालक र विपन्न यात्रुलाई प्राथमिकता दिइनेछ।

नागरिक समाज मकवानपुरकी संयोजक रमिला सापकोटाका अनुसार विभिन्न सामाजिक सङ्घसंस्था र मारवाडी सेवा समाज जस्ता सहयोगी समूहहरूले आलोपालो खाना पकाउने र वितरण गर्ने जिम्मेवारी लिने व्यवस्था मिलाइएको छ। काठमाडौँ उपत्यकातर्फ जाने उपभोग्य वस्तु, इन्धन तथा यात्रुवाहक बसको चाप बढेकाले यस अभियानले जाममा परेका यात्रुहरूलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।