09/14/2026, 02:30:27
आइतबार, भदौ २८, २०८३

कृष्णभीर सडक अवरुद्ध : हेटौँडा–काठमाडौँ आवत-जावतका लागि वैकल्पिक रुट तोकियो


हेटौँडा, भदौ १६ गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक रुट तोकेको छ। सडकमा बढ्दो सवारी चापलाई व्यवस्थित र सुरक्षित बनाउन ठूला मालवाहक तथा यात्रुवाहक सवारी र साना सवारी साधनका लागि छुट्टाछुट्टै मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

नयाँ व्यवस्था अनुसार १० चक्कासम्मका ठूला सवारी साधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधनले काठमाडौँबाट हेटौँडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ।

मौसम तथा बाटोको अवस्थालाई ध्यानमा राख्दै कान्ति राजमार्ग भई आउने यात्रुवाहक सवारीलाई साँझ ६ बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्न भनिएको छ। विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक काममा मात्र यात्रा गर्न, ओभरटेक नगर्न र ट्राफिक नियम तथा सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले अनुरोध गरेको छ।