08/31/2026, 16:58:57
सोमबार, भदौ १५, २०८३

नारायणी नदी क्षेत्रबाट १० वटा शव फेला, चितवनमा सेनाद्वारा खोजी तीव्र


चितवन, भदौ १५ गते । रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजीका लागि चितवनमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत नेपाली सेनाका विभिन्न युनिटहरूले जिम्मेवारी विभाजन गरी नारायणी नदी तथा त्यस आसपासका जोखिमपूर्ण क्षेत्रहरूमा निरन्तर खोजी अभियान चलाइरहेका छन्।

विशेष गरी नयाँ गोरख गण, नयाँ सबुज गण र सिंहनाथ गणको कमान्डो तालिमप्राप्त टोलीले संयुक्त रूपमा नारायणी नदीका कठिन तथा पहुँचयोग्य नभएका क्षेत्रहरूमा समेत खोजी गरिरहेका छन्। सोमबार बिहान ५ बजेदेखि सुरु गरिएको यस अभियानका क्रममा नगर वन टापु क्षेत्रबाट १० वटा शव र थप दुई वटा शवका अवशेषहरू फेला परेका छन्।

नेपाली सेनाका अनुसार बेपत्ता भएका व्यक्तिहरूको स्थिति पत्ता नलागेसम्म यो खोज तथा उद्धार कार्य रोकिने छैन। बाढीबाट प्रभावित क्षेत्र र नदीको तटीय इलाकामा उच्च प्राथमिकताका साथ खोजी कार्यलाई अझ व्यापक बनाएर लैजाने सेनाले जनाएको छ।