

चितवन, भदौ १३ गते । रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका नागरिकका आफन्तजन चितवनको भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (चितवन उद्योग सङ्घ परिसर) मा एकत्र भएका छन्।
कुनै बेला मेला, महोत्सव र राजनीतिक चहलपहल हुने यो स्थल अहिले आफन्तको सास वा लासको पर्खाइमा रहेका मानिसहरूको रोदन र कारुणिक दृश्यले स्तब्ध बनेको छ। नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलन गरिएका २३३ शवमध्ये हालसम्म ४ वटाको मात्र पहिचान भएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको छ।
नदीबाट सङ्कलन गरिएका शव तथा अवशेषहरू सड्न थालेका र क्षतविक्षत भएकाले अनुहार तथा शारीरिक बनावटका आधारमा आफन्त पहिचान गर्न निकै कठिन भइरहेको छ। रसुवामा ग्यारेज मेकानिकका रूपमा काम गर्न गएका युवा, गाडी चालक, ज्यामी मजदुरदेखि जलविद्युत् आयोजनाका इन्जिनियरसम्मका परिवारजन तस्बिर बोकेर अस्पताल र शवगृहका ढोकामा भौँतारिइरहेका छन्। धेरैजसो आफन्तहरू शवगृहभित्र छिरेर शरीरमा भएको ट्याटु, कपडा वा अन्य हुलिया हेर्दै आफ्ना प्रियजनको पहिचान गर्ने प्रयास गरिरहेका छन्।
नेपाली नागरिक मात्र नभई चीनतर्फको मानसरोवर यात्राका लागि टिमुरे पुगेका भारतीय पर्यटकहरूसमेत भदौ १० गतेदेखि बेपत्ता भएकाले उनीहरूका आफन्त र साथीहरू पनि पहिचानका लागि भरतपुर पुगेका छन्। उता, नदी किनारमा खेत गोड्ने क्रममा बाढीले बगाएर हराएका आफन्तको खोजीमा स्थानीय बासिन्दाहरू समेत आशा र निराशाको दोसाधमा तस्बिर र शव नियाल्न बाध्य छन्।
बाढी आएको धेरै दिन भइसकेकाले शवको अवस्था बिग्रिँदै जाँदा पहिचानको कार्य दिनप्रतिदिन झन् जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार, शव सङ्कलन तथा व्यवस्थापनमा निरन्तर खटिएका छन्। बाढी र पहिरोले पुर्याएको अपूरणीय क्षतिसँगै आफ्ना प्रियजन गुमाएका र बेपत्ता भएका परिवारको यो कारुणिक पर्खाइले सिङ्गो भरतपुरको वातावरणलाई शोकमग्न बनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























