08/15/2026, 21:58:42
शनिबार, साउन ३०, २०८३

दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक: उपसभामुख रुबी ठाकुर

"छोरीको विवाह गर्दा दाइजो नदिनुहोस् र छोराको विवाह गर्दा दाइजो नलिनुहोस्"


ढल्केबर, साउन ३० गते । प्रतिनिधि सभाकी उपसभामुख रुबी ठाकुरले समाजमा व्याप्त दाइजो प्रथाको पूर्ण अन्त्यका लागि सबैको सामूहिक पहल र प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ।

धनुषाको ढल्केबरमा शनिबार आयोजना गरिएको नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजोविरुद्ध एकजुट हुन आह्वान गर्नुभयो। उहाँले ठाकुर समुदायलाई सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउन र समाजको प्रतिष्ठा बढाउन आपसी एकता र सहयोग अपरिहार्य रहेको जोड दिनुभयो।

छोरीको विवाह गर्दा दाइजो नदिनुहोस् र छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,” भन्दै उहाँले दाइजोका लागि दबाब दिने वा अन्याय गर्ने जोकसैलाई कडा कानुनी कारबाही हुने चेतावनी दिनुभयो।

सोही अवसरमा उपसभामुख ठाकुरलाई सिरहा नाई समाजका तर्फबाट श्यामकुमार ठाकुरले हजाम (ठाकुर) समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानका साथै राज्यका विभिन्न निकायहरूमा उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाउनुभएको थियो।

कार्यक्रममा उपसभामुख ठाकुरले दाइजोका कारण कसैमाथि अन्याय वा दबाब परेमा आफूलाई सिधै सम्पर्क गर्न आग्रह गर्दै पीडितको न्यायका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले नाई सहयोग संस्था नेपालले सामाजिक सुधारका अभियानहरूमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।