07/14/2026, 18:15:13
मङ्गलबार, असार ३०, २०८३

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


चितवन, असार ३० गते । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन भएका छन् ।

सोमबार दिउँसोबाट सुरु भएको वर्षात्‌का कारण साँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा खसेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिनुभयो । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो ।

इन्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोर खोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेती दोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो । त्यसमध्ये सेतीदोभान पूर्ण रूपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो ।

राति १ बजेसम्ममा गाडी सञ्चालन गर्न सक्ने गरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनु परेको थियो । सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।