07/10/2026, 13:56:27
शुक्रबार, असार २६, २०८३

मन्त्रालयको अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम चलाउने संस्थामाथि कारबाहीको चेतावनी

विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली २०८३ स्वीकृत, ३ दिनभित्र सूचना दिन मन्त्रालयको आग्रह


काठमाडौँ, असार २६ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रिपरिषद्ले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३‘ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो ।

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाले अनुमति नलिई कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको हो । मन्त्रालयले त्यस्ता गैरकानुनी रूपमा सञ्चालित संस्थाहरूबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा सूचना दिन सरोकारवाला सबैसँग आग्रह गरेको छ ।

उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको यस नियमावलीअन्तर्गत अब विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने कार्यक्रमहरूका लागि नयाँ मापदण्ड लागू हुने मन्त्रालयले जनाएको छ ।