06/02/2026, 22:14:35
मङ्गलबार, जेठ १९, २०८३

तत्काललाई जोगियो सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद


धनगढी, जेठ १९ गते । सुदूरपश्चिम कांग्रेस संसदीय दलभित्र मंगलबार नाटकीय घटनाहरू भएका छन् । विहान मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भयो । तर, ४ घण्टा नबित्दै अविश्वास पत्रमा हस्ताक्षर गरेकामध्ये १ सांसदले फिर्ता लिएपछि आफ्नै मुख्यमन्त्री/सरकार फेरबदलका लागि पार्टीभित्र भएको खेलले नयाँ मोड लिएको छ । सांसद डम्मरी महराले हस्ताक्षर फिर्ता लिएको घोषणा गरेपछि तत्कालका लागि मुख्यमन्त्री शाहको पद जोगिएको हो ।

कांग्रेस संसदीय दलमा सभापति गगन थापा पक्षधर सांसदहरूले दल नेता रहेका मुख्यमन्त्री कमलबहादुर शाहविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । शाह पूर्वसभापति शेरबहादुर देउवा पक्षधर हुन् । १८ जना सांसद रहेको कांग्रेस संसदीय दलका ९ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नेहरूमा सचेतक गीता चौधरी, सांसदहरू मानबहादुर रावल, दिवानसिंह बिष्ट, पदमबहादुर शाही, डम्मरी महरा, तुलसी देवकोटा, बेलबहादुर राना मगर, ललिता सुनार र जुनाकुमारी दानी रहेका छन् । जेष्ठ सदस्य मानबहादुर रावलको संयोजकत्वमा जेठ ८ गते अविश्वास प्रस्ताव दर्ता भएको उल्लेख छ ।

अगुवाई गरेका सांसद दिवानसिंह विष्टले कांग्रेसका कूल सांसद संख्या १८ जना रहेकामा सांसद प्रकाशबहादुर देउवा महिनाैं अघिदेखि अमेरिकामा रहेका र उनी तत्काल नफर्कने भएकाले ९ जनानै बहुमत हुने दाबी गरेका थिए ।

अपरान्हतिर हस्ताक्षरकर्ता सांसद डम्मरी महराले मुख्यमन्त्री कार्यालयमै पत्रकार सम्मेलन गरी हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी थिइन् । उनले भनिन् ‘सरकारका काम कारबाहीप्रति मेरा असहमति त थियो नै तर हस्ताक्षर नै गर्ने मेरो निर्णयले पार्टीमा आन्तरिक आघात परेका बेला एकतामा थप असर पुग्ने ठानेर फिर्ता लिने निर्णय गरेकी हुँ ।

यसअघि यहाँका १८ जनामध्ये १ सांसद मात्रै विशेष महाधिवेशनका पक्षमा खुलेका थिए । त्यसबाहेक सबै पूर्वसभापति देउवा समूहका सांसद थिए । यतिबेला हस्ताक्षरकर्ता बदलिएको सांसदहरू बताउ“छन् ।

यसकारण सुदूरपश्चिम कांग्रेसमा विवाद

सुदूरपश्चिम कांग्रेसमा उत्पन्न किचलोको मुख्य जड मन्त्री हुन खोज्नेहरूको हानाथाप भएको नेताकार्यकर्ताहरूको आरोप छ । साथै कांग्रेस केन्द्रदेखि नै २ समूहमा विभक्त भएकाले पनि खटपट बढेको हो । विगतदेखि नै सरकारमा हाल कांग्रेसबाट मन्त्री रहेकाहरू फेरबदल हुनुपर्ने र नयाले अवसर पाउनुपर्ने लविङ चल्दै आएको सांसदहरू बताउँछन् ।

बैशाख २६ गते सभापति गगन थापा सहभागी प्रादेशिक भेला आयोजना गरिएको थियो । तर, त्यसको बदला झल्किने गरि जेठ १० गते शक्ति प्रदर्शनकै तहमा देउवा पक्षधर नेताहरूले धनगढीमा प्रदेश भेला आयोजना गर्‍यो । दुबै भेलामा मुख्यमन्त्री शाह सहभागी भए पनि देउवा समूहको भेलामा चर्को सुनिएका थिए । सभापति उपस्थित भेलामा मन्तव्यका क्रममा शाहले पूर्वसभापति देउवाको मानसम्मान कायम हुनुपर्ने र कांग्रेस एक ढिक्का बनाउन सभापति थापाकै मुख्य भूमिका रहेकोमा जोड दिएका थिए ।

तर, देउवा समूहको भेलामा भने उनले पूर्वसभापति देउवाको मर्यादामाथि हुने प्रहार सह्य नहुने आशयको मन्तव्य दिएका थिए । त्यसपछि मुख्यमन्त्री शाहविरूद्धको गठजोड बढ्दै गएको कांग्रेस कार्यकर्ताहरू बताउ“छन् ।

त्यसअघि प्रदेश सरकार फेरबदलका चर्चाहरू चल्दै गर्दै मुख्यमन्त्री शाहले कठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति थापास“ग भेट गरेका थिए । उक्त भेटपछि सरकार फेरबदलको चर्चा केही मत्थर भएको थियो । शाह निकट श्रोतका अनुसार सभापति थापा धनगढीमा आएका बेलाको भेटमा नेतृत्व परिवर्तन गर्ने नगर्ने तयारीबारे जिज्ञासा राखेको तर सभापति थापाले त्यस सम्बन्धमा तत्काल कुनै निर्णय भई नसकेको जानकारी दिएको बताउँछन् ।

सांसद महराले हस्ताक्षर फिर्ता लिएको बताएपछि मुख्यमन्त्री फेर्ने अभियानमा लागेका नेताहरू भने निरास भएका छन् । तर, पनि कसरत जारी रहने एक सांसदले बताए ।

सांसद पदमबहादुर शाहीले बीचैमा कसैले फिर्ता लिएको घोषणा गरे पनि अविश्वास प्रस्ताव दर्ता भइसकेकाले मतदान, बैठकबाट छिनोफानो हुने बताए । ‘पार्टी विधानअनुसार अब प्रक्रियामा त जानै पर्छ,’ उनले भने ।

मुख्यमन्त्री शाहले सदस्यहरूका असहमतिका सन्दर्भमा संसदीय दलको बैठक राखेर साझा धारणा र दललाई एक ढिक्का बनाएर लैजाने बताए ।

सुदूरपश्चिममा यतिबेला एमालेको सहकार्यमा कांग्रेस नेतृत्वको सरकार छ । हाल कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ ।

– अर्जुन शाह