

विराटनगर, जेठ १९ गते । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले सोमबार बिहान एउटा सूचना जारी ग¥यो, “दुहबी ग्रिडदेखि टङ्की सबस्टेसनसम्म आएको ३३ केभी प्रसारण लाइन फल्ट भएकाले टङ्की सबस्टेसनबाट सञ्चालित सम्पूर्ण लाइन बन्द रहेका छन् ।”
प्राधिकरण वितरण केन्द्रले ५:५९ बजे यो सूचना जारी गरेसँगै अधिक गर्मी हुने विराटनगरवासीले बारम्बार फोन गरेर मर्मत कति समय लाग्छ भनेर सोधे । प्राधिकरणसँग यति नै समय लाग्छ यकिन जवाफ थिएन । वितरण केन्द्रका प्रमुख रामउद्धार साहका अनुसार बिहानैदेखि गर्मी भएका कारण एकै पटक सहरका नागरिकको दबाब झेल्नु परेको थियो ।
प्राधिकरणले प्राविधिक समस्या समाधान गर्न १० बजेसम्ममा सकिन्छ भनेर दिएको जवाफ संशोधन गर्दै दिउँसो १ बजेलाई सार्नु प¥यो । त्यसपछि पनि विद्युत् कटेका सबै क्षेत्रमा आपूर्ति प्रणाली मिलाउन असहज भइरहेको प्रमुख साहले बताउनुभयो ।
गर्मी बढेसँगै विराटनगरमा दैनिक ९० मेगावाट विद्युत्को ‘पिक डिमान्ड’ पुगेको छ । वितरण केन्द्र अन्तर्गत उपभोक्ता सङ्ख्या ९० हजार छ । प्रमुख साहका अनुसार पछिल्ला तीन वर्षमा विराटनगर महानगरपालिका क्षेत्रमा ६० मेगावाट विद्युत्को माग बढेर ९० मेगावाट पुगेको हो । यसो हुनुमा सिङ्गल फेजबाट धेरै व्यक्तिका घरमा अहिले थ्रिफेज लाइन अपग्रेड गरिनु हो । विद्युत् खपतमा प्रयोग हुने घरायसी सामग्री बढ्दै जानु अर्को कारण हो ।
खपत बढेर ९० मेगावाट पुगेपछि ट्रान्सफर्मरमा बारम्बार ‘अन्ब्यालेन्स’ देखि आगलागीसम्म हुन्छ । प्रमुख साहका अनुसार आइतबार साँझ कोशी राजमार्गको एयरपोर्ट मोडनजिकको ट्रान्सफर्मरमा आगलागी भयो ।
सुनसरीको दुहबी ग्रिडबाट ३३ हजार केभिए प्रसारण लाइन मोरङको बुढीगङ्गास्थित टङ्की सिनबारीसम्म आउँछ । त्यहाँबाट ११ केभिए प्रसारण लाइन विराटनगर वितरण केन्द्रको सेवा क्षेत्रमा पठाउने गरिएको छ । वितरण केन्द्रले टङ्की सिनबारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरी सबस्टेसन गरी चार वटा सबस्टेसनबाट विद्युत् आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । वितरण केन्द्रमातहत विराटनगर महानगरसहित कटहरी, जहदा, ग्रामथान र बुढीगङ्गा गाउँपालिका रहेका छन् ।
प्रमुख साहका अनुसार विराटनगरमा टङ्की सिनबारी सबस्टेसनबाट ६० प्रतिशत, रानी सबस्टेसनबाट ३० प्रतिशत र कटहरी सबस्टेसनबाट १० प्रतिशत विद्युत् लोड व्यवस्थापन गरिएको छ । लोड व्यवस्थापनका लागि टङ्की–विराटनगर नयाँ फिडर निर्माण गरिएको थियो । बारम्बार हुने समस्या समाधान गर्न नयाँ फिडर निर्माण गरिए पनि सबस्टेसनमै भारको प्रभाव पर्न थालेको हो ।
ट्रान्सफर्मर अनब्यालेन्स हुनुमा एलटी प्रसारण लाइनमा खपत बढ्दा तारको क्षमता कमजोर हुनु हो । ट्रान्सफर्मरबाट चार फेज सप्लाइ हुन्छ, जुनमध्ये एउटामा एलटीको दुई वटा फेज जोडिन्छ त्यसपछि भोल्टेज ‘बिट ड्रप’ हुन्छ । यस्तो स्थितिमा आपूर्ति प्रणाली र भार थेग्ने ट्रान्सफर्मर कमजोर भए चुँडिने र पड्कने वा आगलागी हुने समस्या बारम्बार दोहोरिने गरेको साहको दाबी छ ।
गर्मीका कारण विद्युत् अवरोध हुँदा त्यसको दबाब सबैभन्दा धेरै प्राधिकरणलाई नै पर्ने गरेको छ । प्राधिकरणले जहाँ समस्या भएको हो, त्यसको यथेस्ट विवरण नै सार्वजानिक गर्ने गरेको छ । प्रमुख साहका अनुसार कर्मचारी टावरमै बसेर काम गरिरहेको भिडियो, फोटो बारम्बार प्राधिकरणले आफ्नो फेसबुक पेजमा अपलोड गरिरहन्छ । यसको कारण, सेवाग्राहीले त्यो हेरेर पनि प्रतीक्षा गर्न सहज होस् भन्ने रहेको छ । विराटनगर वितरण केन्द्रको सेवाक्षेत्रभित्र ६१० वटा ट्रान्सफर्मर जडान गरिएका छन् । अहिले दैनिक १० ट्रान्सफर्मरमा केही न केही समस्या आउने गरेको छ ।
– नवराज कट्टेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































