06/01/2026, 12:52:16
सोमबार, जेठ १८, २०८३

सुदूरपश्चिम प्रदेश सरकारको ‘नीति तथा कार्यक्रम’ आज प्रस्तुत हुँदै


धनगढी, जेठ १८ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ ।

आज बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सभामा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्नुहुने जनाइएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरी प्रदेश सभामा पेस गर्ने निर्णय गरेको थियो ।

यसैगरी सोही बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषदबाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई समेत स्वीकृत गर्दै आजदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

– अविनाश चौधरी