

चितवन, जेठ ९ गते । पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १५ वर्षमा साढे २५ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । ट्र्याकको लम्बाइ ६६ किलोमिटर रहेको छ ।
चितवनबाट काठमाडौँ जोड्ने छोटो दुरीको विकल्पका रूपमा हेरिएको यो सडकखण्डको ट्र्याक २०६६ सालमा खोलिएको थियो । नारायणगढ–मुग्लिङ सडकको विकल्पका रूपमा विस्तार गर्ने उद्देश्यले ट्र्याक खोलिए पनि पर्याप्त बजेट विनियोजन नहँुदा विस्तारसँगै कालोपत्रेले पूर्णता पाउन सकेको छैन ।
हालसम्म चितवनतर्फ साढे १२ किलोमिटर र धादिङतर्फ १३ किलोमिटर सडक कालोपत्रे भएको छ । दुई जिल्ला समेटिएको यो सडक चेपाङ मार्ग भनेर पनि चिनिँदै आएको छ । कुनै वर्ष कालोपत्रे र कुनै वर्ष सामान्य मर्मतका लागि मात्र बजेट आउने भएकाले प्रगति सुस्त भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर मिलन घतानीले बताउनुभयो ।
“भण्डाराबाट उत्तरतर्फको ट्र्याक पटक पटक गरेर साढे १२ किलोमिटर कालोपत्रे भएको छ । यसै चालु आवमा मात्र एक हजार चार सय मिटर कालोपत्रे गरिएको उहाँले बताउनुभयो । यो सडकको क्षेत्र चितवनतर्फ ३६ र धादिङतर्फ ३० किलोमिटर पर्छ । दुवै जिल्लाको सिमाना तान्द्राङगढी हो । चितवन जिल्लातर्फ १२.५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको इन्जिनियर घतानीले बताउनुभयो ।
कालोपत्रे भएको स्थानमा सात मिटर चौडाइ सडक रहेको छ । सडक स्तरोन्नति भएको स्थानमा सवारीसाधन सञ्चालन हुँदै आएको छ ।


पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखुबाट १३ किलोमिटर कालोपत्रे भएको सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी सुदीप कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यालयको क्षेत्रमा पर्ने ३० किलोमिटरमध्ये मलेखुबाट ताल्चीसम्मको १३ किलोमिटर कालोपत्रे भएर सवारीसाधन सञ्चालन हुँदै आएको छ । जिल्लाका दक्षिणतर्फको ग्रामीण क्षेत्रमा साना सवारीसाधनले यात्रु र सामग्री ढुवानी गर्दै आएको सूचना अधिकारी कार्कीले बताउनुभयो । यस क्षेत्रमा पर्ने सडकको साढे पाँच मिटर चौडाइ कालोपत्रे भएको छ भने दायाँबायाँ ढलसमेत निर्माण भएको उहाँले बताउनुभयो ।
“पर्याप्त बजेटको अभावमा काम छिटो हुन सकेको छैन,” उहाँले भन्नुभयो, “हामीले हरेक वर्ष आवश्यक बजेट माग गर्दै आएका छौँ तर पर्याप्त बजेट निकासा हुन सकेको छैन ।”
काठमाडौँलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग भनिए पनि त्यस अनुसार काम हुन नसकेको राप्ती नगरप्रमुख शमशेर लामाले बताउनुभयो । यो मार्ग निर्माण पूरा भएमा यस क्षेत्रका चेपाङ समुदायको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने उहाँले बताउनुभयो । चेपाङ समुदायको जीवनस्तर उकास्न सकिने र छोटो दुरीमा राजधानीलाई जोड्ने योजना भएकाले ट्र्याक खोलिएको तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउनुहुन्छ ।
चितवनको निर्वाचन क्षेत्र नंं. १ का सांसद हरि ढकालले आगामी बजेटमा सम्बोधन गरेर थप विस्तारको काम अघि बढाउने तयारी भएको जानकारी दिनुभयो । “लामो समयदेखि बजेट अभावमा यो सडकको बाँकी काम सुस्त भएको छ,” उहाँले भन्नुभयो, “आगामी बजेटमा सडक विस्तारसँगै कालोपत्रे हुने गरी बजेट विनियोजन हुने छ ।”
– शालिग्राम नेपाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























