04/24/2026, 16:15:17
शुक्रबार, बैशाख ११, २०८३

कैलालीको लम्की क्षेत्रमा यातायात सेवा विस्तार, नयाँ कार्यालय सञ्चालनमा


काठमाडौँ, वैशाख ११  गते। लम्कीचुहा नगरपालिका-४ बलियामा यातायात व्यवस्था सेवा प्रदान गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको छ। पूर्वी कैलालीका सेवाग्राहीलाई लक्षित गरी उक्त सेवा विस्तार गरिएको जनाइएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार आयोजित कार्यक्रममा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा उनले सेवा पहुँचलाई स्थानीय तहसम्म विस्तार गरी नागरिकलाई सहज सुविधा उपलब्ध गराउने लक्ष्यसहित कार्यालय सञ्चालनमा ल्याइएको उल्लेख गरे।

संघीय संरचना कार्यान्वयनअघि सुदूरपश्चिम क्षेत्रमा यातायात सेवा सीमित स्थानमा केन्द्रित रहेको थियो। प्रदेश सरकार गठनपछि विभिन्न जिल्लामा कार्यालय स्थापना हुने क्रम जारी रहँदा लम्कीस्थित कार्यालय पाँचौँ सेवा केन्द्रका रूपमा सञ्चालनमा आएको हो। प्रदेश मन्त्रिपरिषद्को २०८२ मङ्सिर २४ गतेको निर्णयअनुसार सेवा विकेन्द्रीकरणको नीति अनुरूप यो कदम चालिएको बताइएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारी का अनुसार कार्यालयले गत चैत २४ गतेदेखि परीक्षण सेवासमेत सुरु गरिसकेको थियो। सो अवधिमा बिलबुक नवीकरणबाट मात्र उल्लेख्य राजस्व सङ्कलन भएको जानकारी दिइएको छ।

कार्यालय सञ्चालनका लागि स्थानीय बासिन्दा झुप्रे रावत ले पाँच वर्षका लागि भवन तथा पार्किङ स्थल नि:शुल्क उपलब्ध गराएका छन्। लामो समयदेखिको माग पूरा भएको भन्दै स्थानीय तहका प्रतिनिधि तथा नागरिकले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

उद्घाटन कार्यक्रममा प्रेमबहादुर बयक, रामेश्वर चौधरी तथा रामलाल नगार्जी लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..