04/17/2026, 13:35:05
शुक्रबार, बैशाख ०४, २०८३

भक्तपुरका विद्यालयमा आइतबार बिदा नहुने, वैशाख ६ देखि नै शैक्षिक संस्था सञ्चालन हुने


भक्तपुर, वैशाख ४ गते । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालय संघीय सरकारकाे निर्देशनविपरीत पूर्ववत् रूपमै सञ्चालनमा हुने भएका छन् ।

शैक्षिक संघसंस्थामा संघीय सरकारले अव्यवहारिक निर्णय गरेपछि कार्यान्वयन गर्न नसकिएकाे नगर प्रमुख सुनिल प्रजापतिले बताए । वर्षमा थप ५२ दिन बिदा दिएमा शैक्षिक काेर्स पूरा नहुने उनको भनाइ छ । संघीय सरकारले स्थानीय सरकारकाे संवैधानिक अधिकारमा हस्तक्षेप गर्न नहुने भन्दै उनले कुनै निर्णय लिनुअघि स्थानीय सरकारसँग सुझाव लिनुपर्ने बताए ।

नगर कार्यपालिकाको २०८३ वैशाख ३ गते बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठी अन्तर्गतका सम्पूर्ण विद्यालय पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो । अब भक्तपुर नगरका शैक्षिक संघसस्थामा वैशाख ६ गतेबाट नै कक्षा सञ्चालन हुने र शनिबार मात्रै बिदा हुने भएकाे छ ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गतेको पत्रमार्फत नेपाल सरकार मन्त्रीपरिषद्को चैत २२ गतेको निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने तथा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको थियो ।

तर भक्तपुर नगरभित्रका विभिन्न विद्यालयका प्रतिनिधि, सार्वजनिक विद्यालय सामूहिक परीक्षा समिति, संयुक्त परीक्षा समिति, आधारभूत विद्यालय समिति तथा संस्थागत विद्यालय संघ नेपाल (इसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) , पेट्सान, हिसान लगायतले दुई दिन बिदा दिँदा पठनपाठनका दिन घट्ने र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको क्रेडिट आवर पूरा गर्न कठिनाइ हुने निष्कर्ष निकाल्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

यसै विषयमा भक्तपुर जिल्ला अभिभावक संघले समेत आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने र वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्नुपर्ने मागसहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

– सुन्दर शिल्पकार