04/07/2026, 20:13:15
मङ्गलबार, चैत २४, २०८२

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु


एजेन्सी, पुस ९ गते । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो ।

लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीहरूले जानकारी दिएका छन् । दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अङ्कारामा रहेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद अली अहमद अल–हदद र चार जना अन्य अधिकारीको निधन भएको पुष्टि गर्नुभएको छ । उहाँले प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा भएको यस घटनालाई ‘दुखद दुर्घटना’ को संज्ञा दिँदै यसलाई लिबियाका लागि ‘ठूलो क्षति’ भएको उल्लेख गर्नुभएको छ ।

जनरल अल–हदद पश्चिमी लिबियाका शीर्ष सैन्य कमान्डर हुनुहुन्थ्यो । संयुक्त राष्ट्रसङ्घको पहलमा विभाजित लिबियाली सेनालाई एकताबद्ध गर्ने प्रयासहरूमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने अन्य चार अधिकारीमा लिबियाको स्थल सेनाका प्रमुख ब्रिगेडियर जनरल अल–फितोरी घ्राइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख जनरल महमुद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब तथा चिफ अफ स्टाफको कार्यालयमा कार्यरत सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब रहनुभएको छ । तीन जना चालक दलका सदस्यको पहिचान भने तत्काल खुल्न सकेको छैन ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..