04/07/2026, 23:06:17
मङ्गलबार, चैत २४, २०८२

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा


याङगुन, ५ असार  : म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाउनुभएको छ । हिरासतमा उहाँले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहनुभएको छ ।

सुकी म्यान्माको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व हुनुहुन्थ्यो र सैन्य शासनबाट खुल्दै गर्दा उहाँ वास्तविक नेत्री बन्नुभएको थियो । तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उहाँ भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइनुभयो र २७ वर्षको सजाय भोगिरहनुभएको छ ।

यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ”, बेलायतका उहाँका ४७ वर्षीय छोरा किम एरिसले भन्नुभयो, “यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।

उहाँले आफ्नी आमाको जन्मदिनसम्मका आठ दिनमा ८० किलोमिटर (५० माइल) दौडिरहनुभएको छ र आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गर्नुभएको छ । तर सुकीले ती देख्न पाउनु हुनेछैन । उहाँ म्यान्माको फैलिएको राजधानी नेपिडोमा एकान्तमा हुनुहुन्छ जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ ।

एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताउनुभयो । “उहाँको अवस्था कस्तो छ हामीलाई थाहा छैन”, उहाँले भन्नुभयो । उहाँले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने डर व्यक्त गर्नुभयो ।

– के तपाईं अझै याद गर्नुहुन्छ ? –

सैन्य नियन्त्रणमा रहेका म्यान्माका भागहरूमा कुनै औपचारिक उत्सवको योजना छैन, तर सैन्य नियन्त्रित मान्डले सहरमा अनुयायीहरूको एउटा समूहले उहाँको जन्मदिनअघि स्वतःस्फूर्त विरोध प्रदर्शन गरेको स्थानीय मिडियाले जनाएको छ ।

केही मास्क लगाएका प्रदर्शनकारीले सडकमा ‘डरबाट मुक्ति’ र ‘जन्मदिनको शुभकामना’ लेखिएका पर्चाहरू छरेका थिए र एक सदस्यले सामाजिक सञ्जालमा साझा गरिएको अस्थिर क्यामेराको फुटेजमा सुकीको तस्वीर समातेका थिए । “के तपाईं अझै यो महान् व्यक्तिलाई याद गर्नुहुन्छ ?”, भिडियोमा एक प्रदर्शनकारीले सोधे ।

सुकी बहुसङ्ख्यक बौद्ध देशमा निकै लोकप्रिय हुनुहुन्छ, तर उहाँले रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक विरुद्धको कारबाहीमा सेनापतिहरूको रक्षा गरेपछि सैन्य अधिग्रहण हुनुअघि विदेशमा लोकतन्त्रको प्रतीकका रूपमा उहाँको स्थिति ध्वस्त भएको थियो ।

म्यान्माको सेनाको लामो प्रभावको विरुद्धमा उहाँ शक्तिहीन रहेको तर्क गरे तापनि लाखौँ रोहिङ्ग्यालाई उहाँको शासनअन्तर्गत छिमेकी बङ्गलादेशमा भाग्न पठाइयो । तैपनि एकपटक सुकीलाई पुरस्कारहरूको वर्षा गर्ने संस्थाहरू र व्यक्तित्वहरूले तुरुन्तै आफूलाई टाढा राखे र उहाँको दोस्रो कारावासले धेरै कम अन्तर्राष्ट्रिय ध्यान पाएको छ ।

– बन्द भएको जन्मदिन –

म्यान्माको स्वतन्त्रता नायक आङ सानकी छोरी सुकी लगभग संयोगवश लोकतन्त्रकी च्याम्पियन बन्नुभयो । आफ्नो युवावस्थाको धेरै समय विदेशमा बिताएपछि उहाँ सन् १९८८ मा आफ्नी बिरामी आमाको हेरचाह गर्न फर्किनुभयो तर दमनद्वारा कुल्चिएको सैन्य विरोधी प्रदर्शनको नेतृत्व गर्न थाल्नुभयो । उहाँ १५ वर्षसम्म बन्द हुनुहुन्थ्यो, जसमध्ये अधिकांश समय उहाँको परिवारको याङ्गुन लेकसाइड हवेलीमा थियो । त्यहाँ उहाँले अझै पनि सीमा पर्खालमाथि भाषणका लागि भीड आकर्षित गर्नुहुन्थ्यो ।

सेनाले निर्वासनमा गए स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो तर उहाँको शान्त अस्वीकारले उहाँलाई स्पटलाइटमा ल्यायो र उहाँलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार दिलायो ।

सुकी सन् २०१० मा रिहा हुनुभयो र सन् २०१५ मा उहाँको नेसनल लिग फर डेमोक्रेसी पार्टीको चुनावी विजयमा नेतृत्व गर्नुभयो । सेनाद्वारा बनाइएको नियमहरूका कारण उहाँ कहिले पनि औपचारिक रूपमा राष्ट्रपति पदमा आउन सक्नुभएन ।

यदि यी अस्सी वर्षीया आफ्नो वर्तमान कारावासबाट रिहा हुनुभयो भने, एरिसले उहाँ सम्भवतः म्यान्माको राजनीतिमा ‘अग्रङ्ंक्तिको स्थिति’ बाट पछाडि हट्नुहुने भविष्यवाणी गर्नुभयो । सेनाले यस वर्षको अन्त्यमा नयाँ चुनावको वाचा गरेको छ, तर सुकीको अहिंसक दृष्टिकोणका पूर्व अनुयायीहरू मिलेर बनेका धेरै समूहले तिनलाई बहिष्कार गर्ने तयारी गरेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..