09/03/2026, 22:13:53
बिहिबार, भदौ १८, २०८३

भोटेकोशी बाढी: वर्षा होइन, पहिरो मुख्य कारण!


काठमाडौँ, भदौ १८ गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढी वर्षाका कारण नभई माथिबाट पहाड खसेर आएको विज्ञहरूले स्पष्ट पारेका छन्।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाकी जलविद् सरस्वती विष्ट र मौसमविद् बिनु महर्जनका अनुसार उक्त बाढीको मुख्य कारण मनसुनी वर्षा नभई प्राकृतिक भू-स्खलन नै हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष नेपालमा मनसुन सरदरभन्दा केही ढिला गरी असार ५ गते (जुन १९) भित्रिएको थियो। समग्रमा यस वर्ष मनसुनी वर्षा सरदरभन्दा कम नै दर्ता गरिएको छ। भदौ १८ गतेसम्म ८० मिलिमिटर वर्षा हुनुपर्ने अनुमान गरिएकोमा हालसम्म ६७.९ मिलिमिटर मात्रै वर्षा भएको तथ्याङ्कले देखाउँछ।

सामान्यतया नेपालबाट मनसुन बाहिरिने आधिकारिक मिति अक्टोबर २ भए तापनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यो समय केही ढिला हुन सक्ने मौसमविद्हरूको आकलन छ। हाल देशभर मनसुन सक्रिय रहे पनि भोटेकोशीको घटनाले नदी क्षेत्रमा वर्षाबाहेकका अन्य भौगर्भिक जोखिमप्रति पनि सचेत रहनुपर्ने देखाएको छ।