09/03/2026, 10:06:18
बिहिबार, भदौ १८, २०८३

पृथ्वी राजमार्ग बन्द हुँदा पनि काठमाडौँमा तरकारीको आपूर्ति सहज, भाउ भने घट्यो


काठमाडौँ, भदौ १८ गते । भोटेकोशीमा आएको हिमबाढीका कारण पृथ्वी राजमार्ग बन्द भए पनि काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति शृङ्खला प्रभावित भएको छैन। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार विगतका वर्षको तुलनामा यस पटक अधिकांश तरकारीको मूल्य सस्तो भएको छ। बिपी राजमार्ग, कान्ति लोकपथ र मध्यपहाडी राजमार्गजस्ता वैकल्पिक मार्गको कुशल प्रयोगका साथै उपत्यका वरपरका ‘पकेट क्षेत्र’ मा उत्पादन बढेकाले बजारमा तरकारीको आपूर्ति सहज बनेको हो।

काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरू काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र धादिङबाट ठुलो परिमाणमा आन्तरिक उत्पादन भित्रिरहेकाले भारतीय आयातमा निर्भर हुनुपरेको छैन। कालीमाटीमा मङ्गलबार करिब ६९६ मेट्रिक टन तरकारी भित्रिएको छ, जुन सामान्य अवस्थाको दैनिक औसत आठ सय मेट्रिक टनभन्दा थोरै मात्र कम हो। स्वदेशी उत्पादनले नै बजारको ठुलो हिस्सा ओगटेकाले राजमार्ग अवरुद्ध हुँदा पनि कृत्रिम अभाव सिर्जना हुन पाएको छैन।

यद्यपि, बजारमा आपूर्ति सहज भए पनि मागमा उल्लेख्य कमी आएकाले व्यापारीहरूले उचित मूल्य पाउन सकेका छैनन्। रसुवाका हाइड्रोपावर र होटेलहरूमा जाने तरकारी रोकिनु, पर्यटकको चहलपहल घट्नु र तीजका कार्यक्रमहरू स्थगित हुनाले तरकारीको खपत घटेको छ। आलु र प्याजबाहेक गोलभेँडा, बन्दा, काउली, घिरौँला र हरियो सागपातको उत्पादन उच्च रहेकाले कालीमाटी बजारमा धेरैजसो तरकारीको भाउ ओरालो लागेको छ।