

काठमाडौँ, भदौ १७ गते । रसुवा हिमपहिरो र पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएर त्रिशूली नदीमा खसेपछि काठमाडौँबाट छुट्ने लामो तथा मध्यम दुरीका ठुला सार्वजनिक सवारीसाधनहरू पूर्ण रूपमा ठप्प भएका छन्।
दैनिक साढे दुई हजारसम्म बस छुट्ने गोङ्गबुस्थित नयाँ बसपार्क भदौ १० गतेदेखि नै सुनसान बनेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सबै सार्वजनिक सवारी नचलाउन निर्देशन दिएको छ।
सडक अवरुद्ध भएपछि यात्रुको सहजताका लागि वैकल्पिक रुटहरू तय गरिए पनि ठुला बस तथा मालवाहक गाडी सञ्चालन गर्न गाह्रो भइरहेको छ। तीन तहका सरकारबिच छिटो-छरितो समन्वय हुन नसक्दा यातायात व्यवसायी र यात्रुहरूले सास्ती भोग्नुपरेको महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो। ठुला सवारीका लागि नौबिसे-दामन-भैँसे हुँदै हेटौँडा जाने बाटो भनिए पनि सडक असहज रहेकाले ठुला बस पठाउन सकिएको छैन।
यसैबिच, सडकमा सवारीको चाप बढेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हेटौँडा-काठमाडौँ रुटमा साना तथा मध्यम सवारीका लागि ‘एकतर्फी‘ (One-way) रुट निर्धारण गरेको छ। १४ सिटभन्दा कम क्षमताका सवारीसाधन काठमाडौँबाट जाँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली र फर्कँदा फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी प्रयोग गर्नुपर्ने छ। ठुला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























