

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीको प्रत्यक्ष प्रभाव नेपालको सेयर बजारमा देखिएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको र निर्जीवन बिमा कम्पनीहरूमा ठूलो दाबी (Claim) पर्ने आकलनका कारण लगानीकर्ताहरू हतोत्साहित भएका छन्। साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४३.८९ अङ्क (१.७१ प्रतिशत) ले घटेर २५१३.४२ को विन्दुमा झरेको छ।
बाढीका कारण सञ्चालनमा रहेका १० र निर्माणाधीन ५ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा उत्पादन अवरुद्ध हुने र आयोजनाको आम्दानी घट्ने आशङ्का बढेको छ। सोमबारको कारोबारमा निर्जीवन बिमा उपसमूह ५.०३ प्रतिशत र जलविद्युत् उपसमूह २.९४ प्रतिशतले ओरालो लागेका छन्। बजार विश्लेषकहरूका अनुसार यो गिरावट दीर्घकालीन सङ्कटभन्दा पनि विपत्तिपछिको तत्कालीन मनोवैज्ञानिक त्रासका कारण भएको हो।
सोमबार बजारमा ३४७ कम्पनीका ९३ लाख २२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा कुल तीन अर्ब ६४ करोड ८६ लाख रुपियाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक बाँकी सबै १२ वटा उपसमूहका सूचक राताम्मे भएका छन्, जसमा शिवम् सिमेन्टको सर्वाधिक २६ करोड ३८ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























