09/01/2026, 10:14:06
मङ्गलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी

उद्धार, राहत र पुनस्र्थापनामा सरकार युद्धस्तरमा सक्रिय : परराष्ट्रमन्त्री खनाल


नुवाकोट, भदौ १६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकार चिन्तित रहेको र प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ।

उद्धार र राहत पहिलो प्राथमिकता:
भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको सुरक्षा, उद्धार र राहतका लागि सरकार पूर्ण गम्भीरताका साथ खटिएको छ। पहिलो चरणमा पीडितहरूको जीवन रक्षा र आपत्कालीन राहतलाई उच्च प्राथमिकता दिँदै सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनसमुदायको संयुक्त समन्वयमा कार्यहरू अघि बढाइएको छ।

जलविद्युत आयोजनामा फसेकाहरूको उद्धार:
बाढीका कारण जलविद्युत आयोजनामा फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धार कार्यलाई तीव्र पारिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी र सुरक्षित बनाउन विदेशी प्राविधिक (विज्ञ) हरूको समेत सहयोग लिइएको छ। साथै, क्षतविक्षत बनेका सडक सञ्जालहरूलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन युद्धस्तरमा काम भइरहेको छ।

स्वास्थ्य र वातावरणीय जोखिमप्रति सचेत:
बाढीपछि प्रभावित क्षेत्रमा फैलिन सक्ने महामारी र दुर्गन्धको जोखिमप्रति सरकार पूर्ण रूपमा सचेत छ। सम्भावित स्वास्थ्य सङ्कटबाट स्थानीयवासीलाई बचाउन र स्थिति सामान्य बनाउन आवश्यक सबै रोकथामका उपायहरू अपनाइँदैछ।