08/31/2026, 14:14:04
सोमबार, भदौ १५, २०८३

भोटेकोशी बाढी : प्रधानमन्त्रीद्वारा उद्धार र राहतका लागि सुरक्षा प्रमुखहरूसँग छलफल


काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न आपत्कालीन अवस्थाको समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग घनीभूत छलफल सुरु गर्नुभएको छ। बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत वितरण र समग्र व्यवस्थापनलाई चुस्त बनाउन प्रधानमन्त्री शाहले आफैँ पहलकदमी लिनुभएको हो।

यसै क्रममा प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाली सेनाद्वारा हालसम्म सञ्चालन गरिएका खोज तथा उद्धार कार्य र राहत व्यवस्थापनबारे विस्तृत ‘ब्रिफिङ’ लिनुभएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटमा सेनापति सिग्देलले प्रभावित क्षेत्रको पछिल्लो वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो।

सङ्कट व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले आजै सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छुट्टाछुट्टै छलफल गर्दै हुनुहुन्छ। बाढीपीडितको तत्काल उद्धार, सुरक्षित स्थानान्तरण र आवश्यक राहत सामग्री पहुँच सुनिश्चित गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्ने सरकारको तयारी छ।