08/29/2026, 09:00:29
शनिबार, भदौ १३, २०८३

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेका ३५ जनाको उद्धारमा गृहमन्त्री आफैँ खटिए


काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जना नागरिक फसेका छन्।

सुरुङको प्रवेशद्वारमा माटो तथा ढुङ्गा थुप्रिएर बाटो बन्द भएपछि उद्धार कार्यलाई तीव्र पारिएको छ। उद्धार अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ आफैँ घटनास्थलमा पुगेर पछाडिको व्यवस्थापन र उद्धारको नेतृत्व गरिरहनुभएको छ।

सुरुङभित्र अक्सिजनको मात्रा घट्न सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले मिनी स्काभेटरसहित राति पनि निरन्तर काम गरिरहेको छ। प्रवेशद्वारको पहिरो पन्छाएर फसेका कर्मचारी तथा नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्राविधिक टोलीले जोखिमका बाबजुद कामलाई अघि बढाएको छ।

यसअघि नेपाली सेनाले माथिल्लो त्रिशूली क्षेत्रकै अर्को सुरुङबाट सयौँ मानिसको सफल उद्धार गरिसकेको छ। अझै केही व्यक्तिहरू अन्य संरचनामा फसेको हुनसक्ने आशङ्कामा सुरक्षा निकायले सम्भावित सबै स्थानहरूमा खोज तथा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ जारी राखेका छन्।