08/16/2026, 21:40:03
आइतबार, साउन ३१, २०८३

पाँचबुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको राष्ट्रिय सम्मेलन सम्पन्न


ललितपुर, साउन ३१ गते । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाको संयोजकत्वमा काठमाडौँमा आयोजित संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय सम्मेलन पाँचबुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको छ। सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय र आयोजनामा आगामी १५औँ महाधिवेशन सम्पन्न गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।

सम्मेलनले बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई स्मरण गर्दै देशको वर्तमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी अघि बढ्ने प्रतिबद्धता जनाएको छ। साथै, नेपालको सनातन धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा कायम राख्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावको रक्षा गर्ने तथा वर्तमान संविधानमा जनअपेक्षा अनुसार आवश्यक संशोधनका लागि संवाद गर्ने निष्कर्ष निकालिएको छ।

प्रस्तुत प्रस्तावहरूलाई परिमार्जनसहित अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा उमाकान्त चौधरी, सीता राना, मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सम्मिलित समिति गठन गरिएको छ। सम्मेलनको समापन समारोहमा पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा र संयोजक डा. शशाङ्क कोइराला लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो।