10/16/2026, 01:24:58
बिहिबार, असोज २९, २०८३

डिडिसीको पुनरागमन: घाटाबाट दैनिक रु. ८ लाख ९१ हजार नाफासम्मको यात्रा

स्पष्ट नीति, खर्च कटौती र मौज्दात बढाएर बिक्री गर्दा दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक ८० हजार लिटर दूध बिक्री गर्दै दैनिक रु ८ लाख ९१ हजार प्रारम्भिक नाफा आर्जन गर्न सफल भएको छ।


काठमाडौँ, साउन २६ गते । स्पष्ट नीति, अनावश्यक खर्च नियन्त्रण र कुशल व्यवस्थापनका कारण लामो समयदेखि घाटामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) छोटो समयमै नाफा आर्जन गर्न सफल भएको छ। संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार हाल डिडिसीले ४४ जिल्लाबाट दैनिक करिब ६१ हजार लिटर दूध सङ्कलन गरी दैनिक ८० हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको छ।

डिडिसीले बजारमा प्रतिलिटर रु १३० पर्ने ५ प्रतिशत फ्याट भएको दूध र प्रतिलिटर रु १०० पर्ने ३ प्रतिशत फ्याट भएको दूध बिक्री गर्दै आएको छ। उत्पादन लागत र प्रशोधन खर्च कटाएर ३ प्रतिशत फ्याटको दूधबाट प्रतिलिटर रु १० (दैनिक रु ७ लाख ३० हजार) र ५ प्रतिशत फ्याटको दूधबाट प्रतिलिटर रु २३ (दैनिक रु १ लाख ६१ हजार) गरी दैनिक कुल रु ८ लाख ९१ हजार प्रारम्भिक नाफा आर्जन भइरहेको छ।

प्राप्त आम्दानीबाट डिडिसीले किसानको पुरानो बक्यौता रकम घटाउँदै ल्याएको छ। विगतमा किसानलाई भुक्तानी गर्न बाँकी रहेको ८ महिनाको रु ७२ करोड बक्यौतामध्ये ६० करोड भुक्तानी गरिसकिएको छ भने बाँकी भुक्तानीलाई २-३ महिनामा झारिएको छ। साथै, संस्थानले ३ करोड रुपैयाँ ऋण चुक्ता गर्नुका साथै काठमाडौँ उपत्यकामा ८ वटा नयाँ बिक्री काउन्टर थप गरी कारोबार विस्तार गरेको छ।

दुग्ध विकास संस्थान (डिडिसी) को दैनिक नाफाको विवरण तालिकामा प्रस्तुत गरिएको छ:

दूधको प्रकार बजार मूल्य (प्रतिलिटर) उत्पादन/प्रशोधन लागत (प्रतिलिटर) दैनिक औसत बिक्री प्रतिलिटर नाफा दैनिक जम्मा नाफा
३% फ्याट भएको दूध रु १०० रु ८२ ७३,००० लिटर रु १० रु ७,३०,०००
५% फ्याट भएको दूध रु १३० रु ९७ ७,००० लिटर रु २३ रु १,६१,०००
कुल जम्मा — — ८०,००० लिटर — रु ८,९१,०००