06/05/2026, 10:22:37
शुक्रबार, जेठ २२, २०८३

जसको जादु विश्वकपमा देखिने छैन..


न्युयोर्क, जेठ २२ गते । हरेक विश्वकप फुटबल प्रतियोगितामा चोटले छनोट हुन नसक्दा लगायतका कारणले केही उत्कृष्ट खेलाडी मैदान बाहिर रही टुलुटुलु विश्वकप हेर्न बाध्य हुन्छन् । विश्वका अति राम्रा खेलाडीलाई यो क्षण निकै पीडादायक हुने गर्दछ । यसपालि पनि विश्व चर्चित खेलाडीको एक हुल विश्वकपको दर्शक मात्रै हुने छ ।

हुन त लियोनेल मेसी, किलियन एम्बापे र लामिने यमाल जस्ता सुपरस्टार फुटबलर पनि विश्वकपअघि चोटिल हुनुभएको थियो तर यी तिनै खेलाडी विश्वकप खेल्ने आआफ्नो टिममा परेपछि समर्थक दङ्ग छन् । गत महिना अमेरिकी लिगमा इन्टर मियामीका लागि खेल्दा चोटका कारण मैदान छोडेपछि मेसीले विश्वकप खेल्नेमा पनि शङ्का उत्पन्न भएको थियो । सो समय उहाँको चोटलाई मांशपेसीको थकान मात्र भनिएको थियो । यद्यपि अहिलेसम्म उहाँ पूर्ण रूपमा दुरुस्त भइसकेको हो वा होइन भन्ने जानकारी दिइएको छैन ।

स्पेनका नयाँ सुपरस्टार यमालले पनि मांशपेसीमा खिचाव उत्पन्न भएका कारण बार्सिलोनाका लागि अन्तिम केही हप्ता खेल्न सक्नुभएन । जसले स्पेन र उहाँका समर्थकको चिन्ता बढाएको थियो । यमालले पनि भन्नुभएको छ– म घाइते भएको समय अहिले पनि सम्झन्छु । विश्वकप नजिकिएकोले चोट गम्भीर नहोस् भनेर मैले प्रार्थना गरेको थिएँ किनभने विश्वकप मेरो लागि निकै महìवपूर्ण छ ।

क्यानडाका स्टार खेलाडी अलफोन्सो डेभिसले पनि चोटका कारण बोस्निया हर्जगोभिनासँगको पहिलो खेल खेल्नेमा शङ्का छ । क्रोएसियाका भेट्रान मिडफिल्डर लुका मोड्रिचको पनि अप्रिलमा गालाको हड्डी भाँचिएको थियो तर विश्वकपअघि नै सही समयमा उहाँ एसी मिलानबाट खेल्न दुरुस्त हुनुभयो । यद्यपि उहाँले सुरक्षात्मक मास्क लगाएर खेल्नुभएको थियो । क्रोएसियाकै डिफेन्डर जोस्को ग्वार्डियोल पनि चोटपछि सही समयमा दुरुस्त भएर म्यान्चेस्टर सिटीको अभ्यासमा फर्कनुभएको थियो ।

जर्मनीको क्लब बोरुसिया मोन्चेनग्लाडबाखबाट खेल्ने अमेरिकी खेलाडी जियो रायना पनि सही समयमा चोटबाट मुक्त हुनुभएको छ । अमेरिकी प्रशिक्षक माउरिसियो मोचेटिनो रायनाले खेल्ने भएपछि निकै खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो– रायना फरक खेलाडी, फरक प्रतिभा हुन्, उनले अन्य खेलाडीलाई सहयोग गर्ने छन् ।

चोटले खेल गुमाउनेहरू

मेसी, एम्बापे र यमाल जस्तो अन्य केही खेलाडी भाग्यमानी हुन सकेन । चोट मात्र होइन टिममा नपर्दा र आफ्नो देश विश्वकपमा छनोट नहुँदा पनि केही चर्चित खेलाडी विश्वकपमा नदेखिने भएका छन् । फ्रान्सका स्ट्राइकर ह्युगो इकिटिकेले विश्वकप सुरु हुनु दुई महिनाअघि गम्भीर चोट बेहोर्नुभयो । उहाँलाई चोटबाट मुक्त हुन छ महिना लाग्ने छ । जसले विश्वकप मात्र होइन अर्को सत्र सुरु हुने प्रिमियर लिगका सुरुवाती खेलमा पनि लिभरपुलका लागि खेल्न सक्नु हुने छैन ।

ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ पनि विश्वकपबाट बाहिरिपछि पाँच पटकको विजेता टिमलाई ठुलो घाटा भएको छ । जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री पनि विश्वकपमा देखिनु हुने छैन । उहाँलाई प्रशिक्षणमा चोट लागेको थियो । यसै गरी अर्जेन्टिनाका जोयहिन पानिचेली, इङ्ग्ल्यान्डका बेन ह्वाइट, नेदरल्यान्ड्सका जाभी सिमन्स, आयोजक अमेरिकाका क्यामरन कार्टर–भिकर्स, प्याट्रिक एजिमाङ, जोन कार्डोसो, स्कटल्यान्डका बिली गिलमर र स्पेनको फर्मिन लोपेज पनि चोटकै कारण विश्वकपमा नदेखिने केही चर्चित खेलाडी हुनुहुन्छ ।

हुन त खेलाडी र प्रशिक्षकले पहिले नै विश्वकपअघि धेरै खेलाडी फिट हुन नसक्ने भन्दै चेतावनी नदिएको होइन किनभने व्यावसायिक फुटबल खेल तालिका एकदम व्यस्त छ । विश्वकपअघिको विस्तारित क्लब विश्वकप र च्याम्पियन्स लिगका कारण खेलाडी पूरा सत्र फुटबलमा एकदम व्यस्त रहेकाले पनि यो समस्या आएको हो ।

देश छनोट नहुँदा दर्शक बनेका खेलाडी

यस विश्वकपमा चार पटकको विजेता इटाली चयन हुन नसक्नु सबभन्दा ठुलो समाचार बन्यो । प्लेअफमा बोस्निया एन्ड हर्जगोभिनासँग प्लेअफमा पराजित भएपछि इटाली लगातार तेस्रो पटक विश्वकपमा चयन हुन असफल भएको थियो । इटाली बाहिरिएपछि गोलरक्षक गियानलुइजी डोनारुमा र मिडफिल्डर सान्ड्रो टोनाली, बास्तोनी जस्ता खेलाडीको खेल विश्वकपमा हेर्न नपाउने भएको छ ।

स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पनि यस विश्वकपले मिस गर्ने छ । पोल्यान्ड विश्वकपमा छनोट हुन नसक्दा लेवान्डोस्कीको खेल हेर्न नपाइने भएको हो । अफ्रिकाका दुई ठुला फुटबल राष्ट्र क्यामरुन र नाइजेरिया पनि यस वर्ष विश्वकपमा छनोट हुन सकेनन् । जसले क्यामरुनका ब्राउन एमबुएमा, नाइजेरियाका फरवार्ड भिक्टवर ओसिमहेन र एडेमोला लुकम्यान जस्ता खेलाडीको खेल पनि यस विश्वकपमा हेर्न पाइने छैन ।

च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन र लिभरपुलका लागि लगातार सानदार खेल देखाइरहेका कभारा केभित्सखलिया र डोमिनिक सोबोस्लाई पनि अमेरिका, मेक्सिको र क्यानडाको मैदानमा देखिने छैन । केभित्सखलियाको देश जर्जिया र सोबोस्लाईको देश हङ्गेरी पनि यस विश्वकपमा चयन हुन असफल भएको थियो ।

टिममा नपरेका चर्चित फुटबलर

प्रिमियर लिग स्टार कोल पाल्मर, फिल फोडेन, ह्यारी म्यागुयर, ट्रेन्ट अलेजान्डर बर्नोल्ड जस्ता खेलाडी इङ्ग्ल्यान्डको टिममा नपर्दा प्रशिक्षक थोमस टुचेल आलोचित नै हुनुभयो । फ्रान्सका मिडफिल्डर एडवार्डो कामाभिङ्ग र गत विजेता अर्जेन्टिनाका पाउलो डिबालाले पनि आ-आफ्ना प्रशिक्षकको विश्वास जित्न सक्नुभएन ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..