काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले ‘से चिज, डिडिसीको चिज’ भन्दै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा तस्बिर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठुलो मद्दत पुग्ने आमबुझाइ बनेको छ ।
डिडिसीले उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दुधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । वार्षिक रूपमा ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको डिडिसीले जनाएको छ ।
डिडिसीले देशभरका १४ चिज उत्पादन केन्द्रबाट चिज उत्पादन गर्दै आएको छ । यीमध्ये आठ केन्द्रबाट याक चिज उत्पादन हुन्छ । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले प्रधानमन्त्रीले याक चिज खाएको फोटो सार्वजनिक गरेपछि यसले बजार प्रवर्धन गर्न सहयोग पुग्ने बताउनुभयो । याक चिज हिमाली क्षेत्रमा उत्पादन हुने हुुँदा अन्यको तुलनामा महँगोसमेत पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।


डिडिसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सोलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवाभन्ज्याङलगायतका स्थानमा चौँरीको दुध सङ्कलन गरी चिज उत्पादन गर्दै आएको डिडिसीले जनाएको छ ।
वार्षिक ५५ लाख रुपियाँदेखि ६० लाख रुपियाँको तीन प्रकारका चिज बिक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो । जुन आन्तरिक बजारमा खपत हुने गर्छ । डिडिसीले याक चिज, कञ्चन चिज, मोजरेल्ला चिज उत्पादन गदै आएको छ । याक चिज चौँरीको दुधबाट बनाइन्छ । कञ्चन चिज गाई र भैँसीको दुधबाट बन्ने गर्छ ।
डिडिसीका अनुसार याक चिज प्रतिकिलो एक हजार ८८० रुपियाँमा बिक्री भइरहेको छ । कञ्चन चिज प्रतिकेजी एक हजार दुई सय रुपियाँ र मोजरेल्ला चिज प्रतिकेजी नौ सय रुपियाँ मूल्य रहेको छ । चिज डिडिसिका विभिन्न बिक्री केन्द्रबाट बिक्री हुने गर्छ । याक चिज विदेशीले बढी रुचाउने भएकाले पनि पर्यटकीय क्षेत्रमा बढी खपत हुने गरेको डिडिसीले जनाएको छ ।
चैतदेखि कात्तिकसम्म चिजको उत्पादन भए पनि चिसो मौसम सुरु हुनासाथ उत्पादन बन्द हुन्छ । डिडिसीले पनिर पनि उत्पादन गर्दै आएको छ । निजी क्षेत्रले समेत चिज उत्पादन गर्दै आएका छन । डिडिसीले बजारमा चिजका साथै दुध, दही, घिउ, आइसव्रिmम, बटर, पनिर बिक्री गर्दै आएको छ ।
– लक्ष्मी सापकोटा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































