काठमाडौँ, चैत्र ७ : काठमाडौंको भृकुटीमण्डपमा जारी २७औं फ्लोरा एक्स्पोमा २७ हजारले अवलोकन गरेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म सञ्चालन हुने मेलामा दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार भएको छ ।
बिहीबारदेखि सुरु भएको मेलाको पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान)का कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए । उनका अनुसार दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले मेला अवलोकन गरे भने २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यससँगै दुई दिनमा कुल २७ हजार दर्शकले मेला अवलोकन गरेका छन् भने कारोबार ५१ लाख रुपैयाँभन्दा बढी पुगेको छ। एक्स्पोमा व्यवसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फूड २, ल्याण्डस्केप १, सेल्फी १ र बीवाईडी ईभी कारको १ स्टल गरी कुल ८३ वटा स्टल रहेका छन् । मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धा गराइने मेलाका संयोजक रामबहादुर तामाङले बताए ।
यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक तामाङले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रमसमेत आयोजना भएको लायन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरका अध्यक्ष सीताराम लामिछानेले बताए । लायन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरले विगतमा पनि रक्तदान कार्यक्रम, नि:शुल्क पिउने पानी वितरण गर्दै आएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
