काठमाडौं,फागुन २७ गते। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बाँदरलाई पासोमा पारी कुकुर लगाएर अमानवीय तरिकाले मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवालाई पक्राउ गरेको छ। प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. २ सिंहपुर घर भई हाल ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं. २ थेचम्बु बस्ने २१ वर्षीय संगम भनिने छप्पु हेम्ब्यालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार, सामाजिक सञ्जालमा बाँदरलाई तड्पाउँदै कुकुरले टोकाएर मारेको भिडियो सार्वजनिक भएपछि विभिन्न निकाय र संघसंस्थाहरूले गम्भीर चासो व्यक्त गरेका थिए। सोही विषयमा ध्यानाकर्षण हुँदै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको अनुसन्धानबाट उक्त घटना प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडि घटेको खुलेको छ। खेतको बालीनाली जोगाउन बनाइएको पासोमा परेका बाँदरहरूलाई कुकुरद्वारा आक्रमण गर्न लगाई सोको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रहरीले जनाएको छ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!
